PLGSP ले तय गरेका लक्ष्य हासिल गर्नका लागि विभिन्न चौध वटा प्रतिफल अन्तरगत विविध क्रियाकलापहरू सञ्चालित छन् र सुदूरपश्चिम प्रदेशमा पनि सोही बमोजिम PLGSP का विविध क्रियाकलापहरू प्रादेशिक वार्षिक रणनीतिक कार्यन्वयन योजना (PASIP) अनुसार सञ्चालित छन् । उल्लिखित क्रियाकलापहरूको प्रभावकारी कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत रहने गरी PLGSP को प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाई (PPIU) को स्थापना र सञ्चालन भइ आएको छ । यसै सन्दर्भमा प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाईले विशेषगरी प्रदेश सरकार र मातहतका कार्यालय तथा निकायहरुको संस्थागत क्षमता विकास तथा अन्तरसरकारी सम्बन्ध सुदृढीकरणमा मुख्यरुपमा कार्य गरिरहेको छ । यसै अन्तरगत, प्रदेश सरकारलाई कानुन निर्माण, अन्तरसरकारी संयन्त्रहरुको प्रभावकारी परिचालन, धरातलिय र ठाडो जवाफदेहिताको प्रवर्द्धन, विद्युतीय प्रणालीहरुको विकास तथा सवलीकरण, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी संस्थागत विकास लगायतका कार्यहरु मार्फत प्रदेश सरकारको संस्थागत क्षमता विकास र नव प्रवर्तन साझेदारी कोष मार्फत स्थानीय तहहरुको सुशासन तथा आर्थिक विकासमा समेत सहयोग गरिरहेको छ ।
कार्यक्रम कार्यान्वयनका सिलसिलामामा निरन्तर हुने सिकाइ, उत्कृष्ट अभ्यास तथा उपलब्धिको संकलन गरी सम्बन्धित सरोकारवालासँग समेत सिकाइ आदान प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमहरूको सफलताका कथा तथा घटना अध्ययनको संकलन गरी यस पुस्तकमार्फत प्रदेश कार्यक्रम कार्यान्वयन एकाईले हालसम्म हासिल गरेका असल अभ्यासहरू तथा सिकाईहरुलाई प्रस्तुत गरिएको छ । यस पुस्तकमार्फत आयोजना कार्यान्वयनको सिलसिलामा सिकेका राम्रा अनुभवहरू तथा सिकाईहरुलाई सरोकारवाला समक्ष पुऱ्याउने जमर्को गरिएको छ ।
यसले आगामी दिनमा नीति निर्माण तथा कार्यक्रम कार्यान्वयनको क्रममा सरकारी तथा गैरसरकारी निकायलाई महत्त्वपूर्ण सूचना, सिकाई तथा पृष्ठपोषण प्रदान हुने विश्वास समेत गरिएको छ । साथै, दातृ निकाय, प्रदेश तथा स्थानीय सरकार, समुदायमा कार्यान्वयनमा रहेका विभिन्न आयोजना तथा कार्यक्रमलाई समेत यस पुस्तकमा संकलित सफलताका कथा/असल अभ्यास तथा सिकाईहरु उपयोगी हुनेछ भन्ने आशा लिइएको छ ।
लिङ्क: सफलताका कथा/असल अभ्यास तथा सिकाईहरुको पुस्तक हेर्न वा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।