Skip to main content
     
08:00
Biratnagar

कोशी प्रदेशका माननीय मुख्यमन्त्री श्री केदार कार्कीज्यूको अध्यक्षता तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री अनिता देवीज्यूको प्रमूख आतिथ्यतामा आज मिति १२ मङ्सिर २०८० का दिन विराटनगरमा स्थानीय तहहरुले गरेका असल अभ्यास/ प्रयासहरुलाई संकलन तथा अभिलिखिकरण गर्ने उद्धेश्यका साथ दुई दिने अन्तरकृया कार्यक्रमको शुभारम्भ भयो । 

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को आयोजनामा संचालन गरिएको उक्त कार्यक्रमको उद्धघाटन सत्रमा विशेष अतिथिका रूपमा बिराटनगर महानगरपालिका प्रमुख श्री नागेश कोइराला ज्यू  र कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले ज्यूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष श्री पुरन्जन आचार्य ज्यू, विभिन्न स्थानीय तहका प्रमुख/उप-प्रमुखज्यूहरु, मोरङ्गका प्रमुख जिल्ला अधिकारी श्री विरेन्द्र कुमार यादव ज्यू, विकास साझेदारका प्रतिनिधी ज्यूहरू, नगरपालिका महासंघका प्रदेश संयोजक दिलप्रसाद राई ज्यू र प्रदेश र संघ सरकारमा विशिष्ट कर्मचारीहरूको अतिथिको रूपमा उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको उद्धघाटन सत्रमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव तथा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) का राष्ट्रिय कार्यक्रम निर्देशक श्री राम कुमार महतो ज्यूले सहभागीहरूलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नु भएको थियो।

उद्धघाटन सत्रमा मन्तव्य राख्ने क्रममा बिराटनगर महानगरपालिका प्रमुख श्री नागेश कोइराला ज्यूले तिनै तहका सरकार बिच समन्वयको आवश्यकतामा जोड दिदै योजना निर्माण, श्रोत व्यवस्थापन, कर्मचारी अभावका विषयमा संघ र प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो भने कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले ज्यूले अन्तर सरकारी समबन्ध सुदृढिकरण, स्थानीय र प्रदेश सरकारको क्षमता विकासमा PLGSP कार्यक्रमको भूमिकाको प्रशंसनिय रहेता पनि समग्रमा वित्तिय तथा भौतिक प्रगती बढाउनु पर्नेमा विशेष जोड दिनुभयो।

कार्यक्रमको अध्यक्षता गरिरहनु भएका मा. मुख्यमन्त्री ज्यूले आफ्ना धारणा राख्दै स्थानीय तहले सङ्घीय सरकारवाट प्राप्त हुने साझा अधिकारीको सुची अनुसार कानुन निर्माण तथा कार्यान्वयनमा ध्यान दिनुपर्ने विचार राख्दै, संघियताको सफलताका लागी स्थानिय तहका योजनाहरूमा संघ सरकारको भन्दा प्रदेश सरकारको भुमिका बढाउनु पर्ने तर्फ जोड दिनुभयो। 

उद्घाटन सत्रको समापन गर्ने क्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री श्री अनिता देवीज्यूले असल अभ्यास आदान प्रदान गर्ने पद्धतिले नागरिकलाई सु–सुचित गर्नुका साथै संघीयतालाई संस्थागत गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सबै स्थानीय तहले स्पष्ट मार्गचित्र र कार्यसुची तयार गरि सोहि अनुसार आफ्ना प्राथमिकता तयार गर्नुपर्ने तर्फ स्थानीय तहको ध्यानाकृष्ट गर्नुभयो। सुशासनसँग सम्बन्धित विभिन्न विषयगत क्षेत्रहरूमा स्थानीय तहहरूबाट अनुभवको आदान-प्रदान हुने यस अन्तरकृया कार्यक्रमबाट स्थानीय तहको सेवा प्रवाह सुधारका हुने आशा व्यक्त गर्दै मा. मन्त्री ज्यूले कार्यक्रमको सफलताको कामना व्यक्त गर्नुभयो।

कार्यक्रमको दोश्रो सत्रमा सूर्योदय नगरपालिका, रोंग गाउपालिका, सुन्दरहरैंचा नगरपालिका, धरान उपमहानगरपालिका, हल्दीबारी गाउँपालिका, इनरुवा नगरपालिका , हलेसी तुवाचुङ नगरपालिका, फिदिम नगरपालिका, याङवरक गाउँपालिका, ईलाम नगरपालिकाले स्थानीय आर्थिक विकास, विद्युतीय सुशासन, सार्वजनिक वित्त व्यवस्थापन, नवप्रवर्तन साझेदारी कोष, आवधिक योजना लगायतका विषय क्षेत्रमा आफ्ना स्थानीय सरकारहरूले गरेका असल अभ्यास र प्रयासहरू प्रस्तुत गरेका थिए।

प्रस्तुतिकरण सत्रको समिक्षा र समापन गर्ने क्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव कमल प्रसाद भट्टराई ज्यूले स्थानीय तहका असल अभ्यासहरूको प्रशंसा गर्दै प्रस्तुतीकरणहरुलाई अझै नतिजामुखी बनाउनु पर्ने र यस्ता अन्तरकृया कार्यक्रमहरूलाई स्थानिय तहका उत्पादनहरूको प्रवर्धन गर्ने अवसरको रूपमा समेत लिनुपर्ने विचार व्यक्त गर्नु भयो।

कार्यक्रमको दोश्रो दिनमा धनकुटा नगरपालिका, रंगेली नगरपालिका, कन्काई नगरपालिका, त्रियुगा नगरपालिका, दमक नगरपालिका, बेलका नगरपालिका, विर्तामोड नगरपालिका, चौबिसे गाउँपालिकाबाट असल अभ्यास र प्रयासहरूको प्रस्तुतिकरण गरिएको छ। दोश्रो दिनको प्रस्तुतिकरणका सत्रमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव कमल प्रसाद भट्टराई ज्यूले “फोहरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदा” प्रस्तुत गर्नुभयो । फहोरमैलामा स्थानीय तहहरूले गरेका प्रयासको प्रसंसा गर्दै वहाँले फोहरमैलालाई श्रोतको रूपमा उपयोग गर्न, पुन: प्रयोग र प्रशोधनबाट आर्थिक लाभ लिने गरि प्रस्तावित मस्यौदामा सुझाव माग समेत गर्नुभयो।

२ दिने कार्यक्रमको समापन समारोहमा संयुक्त राष्ट्रसंघबाट PLGSP का कार्यक्रम विश्लेषक पदम भुसाल ज्यूले सबै स्थानीय तहलाई प्रस्तुतिकरणका लागी धन्यबाद दिदै संयुक्त राष्ट्रसंघ र PLGSP बाट स्थानीय तहका प्रयासहरूमा सहयोग गर्न सदैव तत्पर रहने विचार राख्नुभयो। सबै सहभागी स्थानिय सरकारको प्रतिनिधित्व गर्दै फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद काफ्ले ज्यूले असल अभ्यास प्रस्तुत गर्ने अवसरका लागी धन्यबाद दिंदै कार्यक्रमले सिक्ने अवसर समेत मिलेको धारणा व्यक्त गर्नुभयो।कार्यक्रमको समापन सत्रमा सम्बोधन गर्ने क्रममा कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले ज्यूले असल अभ्यासका प्रस्तुति प्रेरणादायी रहेक, यस्ता अभ्यास PLGSP कार्यक्रम पुन:संरचनामा रहेकोले यस अवसरमा स्थानीय तहका आवश्यकता र मागलाई सम्बोधन गर्न सके बढि परिणाममुखि हुने तर्फ धारणा राख्नुभयो। 

दुई दिने कार्यक्रमको समापन गर्ने क्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री मा. अनिता देवि ज्यूले स्थानीयतहले गरेका प्रशंसनीय प्रयासहरूले सेवा प्रवाहमा आएको आमूल सुधारका लागी धन्यबाद व्यक्त गर्नुभयो। साथै, संघ र प्रदेश सरकारले आवश्यक कानून र मापदण्ड तयार गरि सो अनुसार कार्यप्रगती भए/नभएको तर्फ ध्यान दिनुपर्ने विचार राख्दै, मा. मन्त्री ज्यूले PLGSP कार्यक्रमबाट स्थानीय भूगोल र नागरिकको आवश्यकता अनुसार सहयोग र प्रोत्साहन गरिनुपर्ने विचार व्यक्त गर्नु भयो।

दुई दिने असल अभ्यास आदान प्रदान कार्यक्रमको समापन पश्चात प्रस्तुत भएका असल अभ्यासहरू मध्ये उत्कृष्ट असल अभ्यासहरुलाई PLGSP कार्यक्रमले प्रकाशन गर्ने लक्ष राखेको छ।

MoFAGA minister and chief minsiter of Koshi lighting candle in innauguration of Best practices sharing program
participants of innauguration of Best practices sharing program
participants of innauguration of Best practices sharing program
LG's presentation of innauguration of Best practices sharing program