मिति २०७९ चैत्र २७ देखि २९ गते सम्म मधेश प्रदेश सरकारको आन्तरिक प्रणाली दिग्दर्शन, २०७९ र मधेश प्रदेश सरकारको वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यविधि २०७९ सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो । यी दुबै दस्तावेजहरू प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को अग्रसरतामा तयार भई प्रदेश सरकारले स्वीकृत गरी राजपत्रमा प्रकाशित गरेको छ । यी दस्तावेजहरूका तयारीमा संलग्न रहनु भएका यसै प्रदेशका सचिव र उपसचिवज्यूहरुबाट यो कार्यक्रमको सहजिकरण भएको थियो ।
कार्यक्रमका सहभागीहरु
यो कार्यक्रममा पहिलो र दोश्रो दिन सूचना तथा प्रविधि शाखा प्रमुख, आर्थिक प्रशासन प्रमुख र जिन्सी शाखा प्रमुखहरु र तेश्रो दिन मन्त्रालय/कार्यालय प्रमुख र योजना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य
यो कार्यक्रमको उदेश्यहरु निम्नानुसार रहेका थिए ।
- सार्वजनिक निकायको कार्य संचालन सुव्यवस्थित, नैतिक, मितव्ययी, कार्यकुशल र प्रभावकारीरुपमा कार्यान्वयन गर्ने; जवाफदेहीताको अभिबृद्धि गर्ने; सम्बन्धित प्रचलित ऐन कानूनको परिपालना गर्ने/गराउने र साधन श्रोतको दुरुपयोग, क्षति र नोक्सानी हुनबाट बचाउने जस्ता बिषयमा सहभागीहरूले बुझ्ने र कार्यान्वयन गर्ने तर्फ उन्मुख हुनेछन्;
- वित्तिय प्रतिवेदनको विश्वसनीयता अभिबृद्धि गर्ने र प्रभावकारिता अभिवृद्धि गर्ने; प्रतिबेदन सही र पूर्ण भएको सुनिश्चित गर्ने; भरपर्दो तथा समयतालिका अनुसार वित्तीय प्रतिबेदन र व्यवस्थापकिय सूचना उपलब्ध गराउने र जनतालाई पुर्याउने सेवामा समतामूलक पहूँच, गुणस्तरीय सेवा र प्रणालीमा सुधार गर्ने बिषयहरूमा सहभागीहरू स्पष्ट हुनेछन्;
- प्रदेश सरकारको वित्तीय सुशासनको स्थिति पहिचान गर्न सक्नेछन् र प्रदेश सरकारको मन्त्रालय र निकायहरुको वित्तिय जोखिम न्यूनीकरण कार्ययोजना तयार गरी सार्वजनिक वित्तिय व्यवस्थापनमा सुधार ल्याउनेछन्;
- बेरुजु कम गर्ने कार्यको थालनी गर्नेछन् ।
कार्यक्रमको अपेक्षित उपलब्धिहरू
- सुचकहरुका आधारमा प्रदेश सरकारको मन्त्रालय तथा सार्वजनिक निकायहरुको वास्तविक वित्तीय जोखिमको अवस्था जानकारी हुनेछ;
- प्रदेश सरकारको मन्त्रालय तथा सार्वजनिक निकायहरुको आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि बनाई लागू गर्नेछन् ।
कार्यक्रमको व्यवस्थापन
यो कार्यक्रमको खर्च PLGSP को बजेटबाट व्यवस्था गरिएको थियो । यो कार्यक्रम High Speed ईन्टरनेटको सुविधायुक्त सभाहलमा बिहानको १० बजे देखि साँझको ५ बजे सम्म ३ दिन सम्म संचालन गरिएको थियो । पहिलो र दोश्रो दिन मधेश प्रदेशको प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा सचिवालय, सबै मन्त्रालयहरू, ३ वटा आयोगहरू, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सहभागीहरूलाई अभिमुखिकरण गराईएको थियो । तेश्रो दिन यिनै कार्यालयका कार्यालय प्रमुख र योजना शाखा प्रमुखहरुलाई अन्तरक्रियात्मक कार्यक्रम गराईएको थियो ।
पहिलो दिनको पहिलो र दोश्रो सत्रमा “मधेश प्रदेश सरकारको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७९” र “मधेश प्रदेश सरकारको वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यविधि २०७९” को बारेमा विस्तृत रूपमा छलफल गरिएको थियो । तेश्रो र चौथो सत्रमा यस कार्यविधिमा राखिएका सूचकहरु बिश्लेषण गरिएको थियो । दोश्रो दिनको पहिलो, दोश्रो र तेश्रो सत्रमा सूचकहरु बिश्लेषण गरी चौथो सत्रमा कार्यालयगत रुपमा कार्यविधिको आधारमा Google Sheet मा तयार गरिएको सूचकहरुमा Online अभ्यास गराईएको थियो र अभ्यासको नतिजा बारे छलफल गरी र कार्यक्रम समापन गरिएको थियो ।
तेश्रो दिनको पहिलो सत्रमा “मधेश प्रदेश सरकारको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन २०७९” र “मधेश प्रदेश सरकारको वित्तीय सुशासन जोखिम मुल्यांकन कार्यविधि २०७९” को प्राबधान, मुल्यांकनका सूचकहरु र अभ्यासको बारेमा अन्तरक्रिया/छलफल गरिएको थियो । सबै कार्यालय प्रमुखहरूलाई आ-आफ्नो मन्त्रालय तथा निकायहरुले आन्तरिक नियन्त्रण प्रणाली कार्यविधि/निर्देशिका तयार गर्नुपर्ने र वित्तीय सुशासन जोखिम मुल्यांकन गराउने विषयमा प्रदेश सचिव तथा प्रादेशिक कार्यक्रम निर्देशकज्यूले अनुरोध गर्नु भएको थियो ।